सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

480
Shares
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं | मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेम विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। बैठक केही बेरअघि सुरू भएको हो।

आजको बैठकले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनामा उच्चस्तरीय जाँचबुझ आयोग गठनको निर्णय गर्ने बताइएको छ। गत शुक्रबार इपिएस परीक्षा आवेदनसम्बन्धी विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई युवकको मृत्यु भएको थियो।

यो घटना छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन प्रधानमन्त्री प्रचण्डले गृहलाई निर्देशन दिएका थिए। जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न लागिएको हो। यससम्बन्धी सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले औपचारिक निर्णय गर्ने र सोमबारदेखि नै काम सुरू गर्ने तयारी सरकारको छ।

बालकुमारीमा भएको घटनासम्बन्धी छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु रिग्देल सदस्य छन्।

बालकुमारी घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको थियो। रावतको छातीमा डाम देखिएको थियो भने साहको गोली लागेर मृत्यु भएको थियो। मृतक परिवारलाई सरकारले १० लाख रूपैयाँ राहत दिने पनि निर्णय गरेको छ।

प्रदर्शनको क्रममा गोली चलाउन निर्देशन दिएको भन्दै गृह मन्त्रालयले फिल्ड कमान्डर रहेका डिएसपी उमेश लम्साललाई निलम्बन गरेको छ।

480
Shares

ट्रेन्डिङ