सबैको समाचार
आइतवार, बैशाख १६, २०८१

१७८ तोला सुन लिलाम गरिँदै

300
Shares
१७८ तोला सुन लिलाम गरिँदै

ताप्लेजुङ | ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार चाँदी बिक्री गर्न लागेको हो ।

विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम बिक्रीको प्रक्रियामा राखिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

२०७६ देखि २०८० मङ्सिर १६ गते सम्ममा पाथीभरामा पाँच हजार २९८ तोला १२ लाल चाँदी सङ्लन भएको र त्यसलाई पनि बिक्री गर्ने प्रक्रिया प्रारम्भ गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रचिन हाङपाङले बताए ।

कार्यकारी निर्देशक हाङपाङका अनुसार प्रतितोला सुनको मूल्य एक लाख २१ हजार र प्रतितोला चाँदीको मोल एक हजार ४१० कायम गरिएको छ ।

सुनचाँदी खरिद गर्न इच्छुक फर्म वा व्यक्तिलाई २१ दिनको समय दिएर बोलपत्र आह्वान गरिएको छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेष गरी बडादसैँ र वसन्त ऋतुमा भक्तजनको चाप बढ्ने गरेको छ ।

बडादसैँपछि चैतेदसैँमा पनि धेरै देवीभक्त यहाँ आउने गर्दछन् । भारतका साथै अन्य देशबाट पनि भक्तजन यहाँ आउने गरेका छन् ।

300
Shares

ट्रेन्डिङ