सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नेपाली कांग्रेस काभ्रेले जनप्रतिनिधीसंग अन्तरक्रिया थाल्यो

नेपाली कांग्रेस काभ्रेले जनप्रतिनिधीसंग अन्तरक्रिया थाल्यो

515
Shares
नेपाली कांग्रेस काभ्रेले जनप्रतिनिधीसंग अन्तरक्रिया थाल्यो

काभ्रे | नेपाली कांग्रेस काभ्रेले जिल्लाका १३ वटै स्थानीय तहका जनप्रतिनिधीसँग अन्तरक्रिया थालेको छ । प्रत्येक महिनाको २ गते जिल्ला कार्यसमितिको घुम्ती (मोबाइल) बैठक शुरु गरेको कांग्रेसले ती पालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधीसँग विकास निर्माण, सेवा प्रवाह, सम्भावना, चुनौती र पार्टीसंगको अन्तरसम्बन्ध लगायतका बिषयमा अन्तरक्रिया थालेको नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले जानकारी दिए ।

उनका अनुसार, प्रत्येक स्थानीय तहमा त्यहाँको वस्तुस्थिती, पार्टी सदस्यको मनस्थिती, सांगठनिक अवस्थाका बारेमा समिक्षा, रणनीति निर्माण हुनेछ । सबै स्थानीय तहमा पुगेर स्थानीय सरकार सञ्चालनको लागि सल्लाह, सुझाव समेत संकलन गर्ने कांग्रेसले जनाएको छ ।

आइतबार रोशी गाउँपालिकाका जनप्रतिनिधी र पार्टीका नेता–कार्यकर्ताविच अन्तरक्रिया भएको छ । अन्तरक्रियामा सहभागी पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताले कृषकलाई रसायनिक मल अभाव भएको, योजनाको भुक्तानी हुन नसकेको, रोशी ८ मा अपायक स्थानमा वडा कार्यालय बनेको, अन्तरघातका कारण धेरै वडामा पराजित भएको लगायतका गुनासो गरेका थिए ।

उनीहरुले पर्यटकीय गन्तव्यको प्रचार प्रसारका साथै रोशी खोलाको संरक्षण हुनुपर्ने धारणा राखेका थिए । जिल्ला सभापति तीर्थ लामा बाग्मती प्रदेशको मन्त्री हुँदा रोशीमा धेरै बजेट विनियोजन भएको भन्दै उनीहरुले ती योजनाहरुको निरन्तरताको कामना गरेका थिए ।

नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति समेत रहेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जिल्लामा कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङमार्फत उपलव्ध मल अपर्याप्त भएकोले थप्नको लागि पटक पटक पहल गरेको जानकारी दिँदै संघीय समानिकरणको बजेट उपलव्ध नभएकै कारण योजनाको भूक्तानी गर्न नसकिने बताए । वडाका वासिन्दाको लागि वडा कार्यालय अपायक भए आवस्यकताका आधारमा सम्पर्क कार्यालय सञ्चालन गर्न सकिने बताए । प्रदुषण नहुने गरी धुलो व्यवस्थापन गर्ने गरी क्रसर व्यवसायीसंग सहमति भएको उनले बताए ।

नेपाली कांग्रेस काभ्रेका सभापति रहेका बाग्मती प्रदेशका पूर्वमन्त्री लामाले कांग्रेस समानता, न्याय र विधीको शासनमा विश्वास गर्ने पार्टी भएकोले जनताका समस्यामा जनप्रतिनिधीलाई केन्द्रीत गराउन सबै स्थानीय तहमा अन्तरक्रिया गराउन लागिएको बताए । आफू कर्ममा विश्वास गर्ने भन्दै पूर्वमन्त्री लामाले बाग्मती प्रदेश सरकारबाट मात्रै रोशीमा १ अर्व ६४ करोड बराबरका योजना स्विकृत भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस बाग्मती प्रदेश कार्यसमितिका सदस्य विक्रम लामा, नेपाली कांग्रेस काभ्रेका उपसभापति ठाकूरप्रसाद न्यौपाने, रमेशप्रसाद हुमागाई, सचिव गुणराज मोक्तान, माधव ढकाल, सहसचिव रविन्द्र सिग्देल, कोषाध्यक्ष जगन्नाथ गिरी, प्रवक्ता सन्तमान तामाङ, नेपाल तामाङ संघ काभ्रेका अध्यक्ष रिमबहादुर तामाङ लगायतले यस्ता अन्तरक्रियाले पार्टी र जनप्रतिनिधीविचको अन्तरसम्बन्ध प्रगाढ हुनुका साथै सेवा प्रवाह र विकास निर्माणले समेत गति लिने धारणा राखेका थिए ।

रोशी गाउँपालिका कार्यसमितिका सभापति दुधराज तामाङले यस्ता अन्तरक्रियाले संगठन चलायमान हुने विश्वास व्यक्त गरे । अन्तरक्रियामा पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला, प्रतिनिधी सभा, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रतिनिधी, क्षेत्रीय प्रतिनिधी, वडा इकाई सभापति, जनप्रतिनिधी लगायतको सहभागिता थियो ।

515
Shares

ट्रेन्डिङ