सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • छालाको डोकाको व्यवसाय फस्टाउँदै

छालाको डोकाको व्यवसाय फस्टाउँदै

5600
Shares
छालाको डोकाको व्यवसाय फस्टाउँदै

कोर्चाबाङ–४ घापागाउँका ४८ वर्षीय टङ्कबहादुर बुढामगर छालाको डोको बनाउनमै व्यस्त देखिनुहुन्छ । आफ्नै श्रम र सीपमा जिल्लामै निर्माण गरिएका छालाको डोकोले बजार पाउन थालेपछि उहाँको व्यस्तता बढेको हो
जिल्लामा मात्र नभई चितवन, पोखरा, काठमाडौँलगायत ठाउँका इँटाभट्टामा छालाको डोकोको माग बढ्दै गएको छ । एउटा राँगा र भैँसीको छालाबाट करिब तीन वटासम्म डोको बनाउन सकिने बुढामगर बताउनुहुन्छ । प्रतिडोकोको मूल्य रु एक हजारदेखि रु एक हजार २०० सम्म पर्छ ।
छालाको डोको बनाएर बुढामगरले मासिक रु ३० हजारदेखि ४० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । डोकोलाई घामपानीबाट बचाउन सके पाँचदेखि सात वर्षसम्म टिक्ने उहाँ बताउनुहुन्छ । बुढामगरको आर्थिक अवस्था कमजोर थियो । आम्दानीको स्रोत थिएन । उहाँ रोजगारीका लागि कुबेत पुग्नुभयो । सोचेअनुसारको कमाइ नभएपछि उहाँ घर फर्कनुभयो ।
बुढामगरले ललितपुरको इँटाभट्टामा मजदुरी गरेर स्नातकसम्म अध्ययन गर्नुभयो । जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालित अनौपचारिक शिक्षा कार्यक्रमका लागि निरीक्षकका रुपमा नियुक्त भएपछि उहाँ रोल्पा फर्कनुभयो । “मासिक रु ७०० पारिश्रमिकमा काम गर्नथाले, फिल्डमै हिँड्दाहिँड्दै सबै रकम सकिन थाल्यो,” उहाँले भन्नुभयो ।
श्रीमतीको पत्थरीको शल्यक्रिया गर्नुपरेपछि बुढामगरलाई गरिबीले नराम्रोसँग पिरोल्यो । उपचारमा लागेको ऋण तिर्ने मनसायले उहाँले लिबाङमा २०५७ सालदेखि मासु पसल सञ्चालन गर्नुभयो । उहाँले मासुसँगै छालाको डोको बनाएर बिक्री गर्न थाल्नुभयो । “पछिल्ला दिनमा छालाको डोकोको माग बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।
उहाँ व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । “छोराछोरीले यही व्यवसायको आम्दानीले उच्च शिक्षा हासिल गरेका छन्,” बुढामगरले भन्नुभयो । उहाँले हाल लिबाङमा चार रोपनी जग्गा समेत किन्नु भएको छ । उहाँले आफ्नै लगानीममा बधशाला निर्माण गर्नुभएको छ । उहाँका एक छोरा र एक छोरी हाल सरकारी जागिरमा प्रवेश गर्नुभएको छ ।
जिल्ला पशुसेवा कार्यालयले उहाँको कामको मूल्याङ्कन गर्दै रु दुई लाख ४० हजार अनुदान दिएको छ । बुढामगर जिल्लामा सफल व्यवसायीका रुपमा स्थापित हुनुभएको छ ।
जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा निमबहादुर सिंहका अनुसार राँगा तथा भैँसी काट्न लिबाङमा दुईवटा, सुलिचौर र घर्तीगाउँमा एक÷एकवटा बधस्थल तथा मासु पसल सञ्चालनमा रहेका छन् । उनीहरुले छालाको डोको समेत बनाउँदै आएका र कार्यालयले सो सम्बन्धी तालिम समेत प्रदान गर्दैआएको सिंह बताउनुहुन्छ । रासस

5600
Shares

ट्रेन्डिङ