सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सेनाको सहयोगमा निर्मित सेवाश्रमको उद्घाटन

सेनाको सहयोगमा निर्मित सेवाश्रमको उद्घाटन

4370
Shares
सेनाको सहयोगमा निर्मित सेवाश्रमको उद्घाटन

नेपाली सेना कल्याणकारी कोषको सहयोगमा जेपी प्रतिष्ठान (मैत्री सेवाश्रम) ले निर्माण गरेका ‘ज्येष्ठ नागरिक ग्राम’को आज एक समारोहबीच प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गर्नुभयो । राजधानी नजिकैको शङ्खरापुर नगरपालिका–४ स्थित लप्सेफेदीमा निर्माण गरिएका उक्त ग्राममा कोषको सहयोगमा १० वटा सुविधायुक्त भवन निर्माण भएका छन् ।
सो अवसरमा प्रधानसेनापति क्षेत्रीले प्रतिष्ठानले ज्येष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य, सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने परिकल्पनाका साथ अघि बढाएको कार्य सह्रानीय छ भन्नुभयो ।
सेवानिवृत्त, स्वतन्त्र र शान्तमय जीवनयापन गर्न चाहनेलाई प्राकृतिक स्वच्छ वतावरणमा निर्माण गरिएको सुविधा सम्पन्न यस आश्रमले ज्येष्ठ नागरिलाई पु¥याउने सेवा पुज्यनीय हुने विश्वास व्यक्त गर्दे उहाँले भन्नुभयो, “यस स्थानको ऐतिहासिक, पौराणिक र धार्मिक महत्व समेत रहेको छ ।”
प्रधानसेनापति क्षेत्रीले “अहोरात्र राष्ट्रसेवकको रुपमा खटिई सेवानिवृत्त सैनिक व्यक्ति पनि हिताधिकारी बन्ने यो कल्याणकारी कोषअन्तर्गतको परियोजनामा भएको हुँदा यो सेवा आश्रम र नेपाली सेनाबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।”
प्राकृतिक स्वच्छ वातावरणमा निर्मित आश्रमले ज्येष्ठ नागरिकको मन जित्न सफल हुने बताउँदै उहाँले प्रतिष्ठानको पवित्र र सुन्दर समाजको परिकल्पनामा नेपाली सेनाले हातेमालो गर्दै कल्याणकारी कोषको माध्यमबाट आबद्ध हुने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्व सचिव माधव रेग्मीले समाज, राष्ट्र र दिनदुखीका लागि निःस्वार्थ काम गर्ने व्यक्ति समाजमा कमै हुने बताउँदै प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालले गरेको काम सबैका लागि अनुकरणाीय रहेको छ भन्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष दाहालले कुनै पनि व्यक्तिमा रहेको गुणबाट समाज लाभान्वित नभएसम्म त्यस गुणको कुनै अर्थ नरहने बताउँदै मैत्री सेवाश्रमलाई देशकै नमुना मात्र नभई अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र बनाइनेमा जोड दिनुभयो ।
प्रतिष्ठानले उक्त स्थानमा सेनाको सहयोगमा १०, सरकारको सहयोगमा सार्वजनिक निजी साझेदारीमा नौ र चन्दा सहयोग उठाएर ११ गरी जम्मा ३० वटा भवन निर्माण गरेको छ । सरकारको अनुदान सहयोगमा निर्मित साढे चारतले ज्येष्ठ नागरिक (जेरियाट्रिक) भवनको मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।
नेपालमा पहिलोपटक सामाजिक, परोपकारी एवम् नवीनतम सोचअनुरुप ज्येष्ठ वा अवकाशप्राप्त नागरिकको स्वतन्त्र र शान्तमय जीवनयापनका लागि प्राकृतिमैत्री वासस्थल तथा प्रदूषणमुक्त आहारविहार, बुढ्यौली स्वास्थ्य उपचार र बौद्धिक दक्षता एवम् सम्पत्तिको सिर्जना गर्ने उद्देश्यले मैत्रीआश्रम निर्माण गरिएको हो ।
विसं २०६९ बाट निर्माण सुरु गरिएको मैत्री सेवाश्रम १० वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसको कुल लागत रु पाँच अर्ब लाग्ने र हालसम्म रु १८ करोड खर्च भएको प्रतिष्ठानका अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
सबै भवन ज्येष्ठ नागरिक र अपाङ्गमैत्री छन् । जम्मा सङ्ख्याको २५ प्रतिशत असक्त असहाय ज्येष्ठ नागरिकलाई निःशुल्क तथा अवस्था र आर्थिक हैसियतका आधारमा निश्चित रकममा आश्रममा बस्न सकिनेछ । मैत्री सेवाश्रममा सुविधा सम्पन्न अस्पताल, पुस्तकालय, योगा ध्यान केन्द्र र पुस्तकालय निर्माण गरिनेछ ।
यसैबीच प्रतिष्ठानले मैत्री आश्रममै यही फागुन ३ देखि ११ गतेसम्म ‘माता पिता भक्ति भूमि पुजन ज्ञान महायज्ञ’ आयोजना गरेको छ । रासस

4370
Shares

ट्रेन्डिङ