सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्मार्ट सर्वे गर्दै बनेपा नगरपालिका, जनतालाई प्रविधीमैत्री बनाउने प्रयास

स्मार्ट सर्वे गर्दै बनेपा नगरपालिका, जनतालाई प्रविधीमैत्री बनाउने प्रयास

3615
Shares
स्मार्ट सर्वे गर्दै बनेपा नगरपालिका, जनतालाई प्रविधीमैत्री बनाउने प्रयास

काभ्रे : बनेपा नगरपालिकाले स्मार्ट पालिकाको सहकार्यमा डिजिटल घरधुरी सर्वेक्षण गर्ने भएको छ। नगरपालिकाभित्र रहेको १४ वटा वडाका लगभग १५ हजार घरधुरीलाई डिजिटल सर्वेक्षण मार्फत समेट्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले डिजिटल सर्वेक्षण मार्फत तथ्यांक संकलन गरी नगरपालिकाको स्थानीय तहको सबै तथ्यांक राखेर नगरपालिकालाई चुस्तदुस्त बनाउन लागिएको बताए ।

नगरका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले गणकहरुले लिएर आएको विवरणको आधारमा नगरपालिका आफ्नो सत्यतथ्य विवरणहरु उपलब्ध हुने बताए । उनका अनुसार यो सर्वेक्षणमार्फत योजनाहरु सँगसँगै विकास निर्माणका कामहरुलाई अगाडि बढाउन सहज हुन्छ ।

बनेपा नगरपालिकाको विषयगत शाखा अनुसारको प्रश्नपत्र योजना शाखा अधिकृत शर्मिला बन्जाडेले तयार पार्नुभएको छ भने नगरले घरघरमा गणकहरु पठाएर डिजिटल रुपमा घरदैलो सर्वे सुरु गर्ने र जियो पोइन्ट,घरमुलिको फोटो देखि सम्पती सम्मका तथ्यांक लिने योजना अनुसार नै काम अघि बढाएको नगरपालिकाको भनाइ छ ।

स्मार्ट पालिकाका सह–संस्थापक राजानन्द माण्डव्यले डिजिटल सर्वेक्षणमार्फत नगरपालिकाको सम्पूर्ण विवरण संकलन गरेपछि जनताले लिनुपर्ने सेवा सुविधाहरु मोबाइलकै माध्यमबाट लिन सकिने बताए । उनका अनुसार मोबाइलकै माध्यमबाट कर, राजस्व तिर्न सहज बनाउने प्रावधानसहित योजना बनाइएको हो ।

पहिलो चरणको डिजिटल घरदैलो अभियान सकिएपछि दोस्रो चरणमा वडाबाट लिने सिफारिस र राज्यलाई तिर्नुपर्ने कर पनि अनलाइनबाट गर्ने व्यवस्था मिलाउने नगरपालिको योजना छ ।

डिजिटल सर्वेक्षणका लागि आज गणकहरुलाई तालिमसमेत दिइएको छ । स्मार्ट पालिकाका क्याम्पेन निर्देशक बिबस​ महतलेदेशका ७० भन्दा बढी पालिकाले अहिले सुचना प्रविधिमैत्री हुने प्रयास गर्दै स्मार्टपालिका संग सहकार्य गर्दै आइरहेको र गणकहरुलाई कसरी सर्वे गर्ने, विवरण संकलन गर्ने, कसरी उपलब्ध विवरण सुरक्षित राख्ने, कसरी विवरणलाई डिजिटलाइज गर्ने भन्ने सम्बन्धिमा गणकहरुलाई प्रशिक्षण दिएका थिए ।

यसैगरी, सर्वेबाट आएको तथ्यांक कसरी नगरले प्रयोग गर्ने र तथ्यांक के कस्ता विषयमा घरमुलीसँग लिने भन्ने प्रशिक्षण स्मार्टपालिकाका क्याम्पेन को-अर्डिनेटर आवेग केसीले प्रस्तुत गरेका थिए।

स्मार्ट पालिकाले लगभग ७० वटा भन्दा बढी स्थानीय तहसँग सहकार्य गरी प्रविधिमैत्री सुशासन निर्माणका लागि काम गर्दै आइरहेको छ । पुर्वको मेचिनगर देखि पश्चिमको दार्चुला अपिहिमाल जस्तो बिकट पालिकामा समेत स्मार्टपालिका प्रोजेक्ट चलिरहेको माण्डव्यले बताए।
तालिममा नगरका वडाध्यक्ष सहित शाखा अधिकृत हरुको सहभागिता थियो।

3615
Shares

ट्रेन्डिङ