सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • महिलाहरुको बर्चश्व राजदुत देखि राष्ट्रपति सम्म

महिलाहरुको बर्चश्व राजदुत देखि राष्ट्रपति सम्म

5580
Shares
महिलाहरुको बर्चश्व राजदुत देखि राष्ट्रपति सम्म

अमेरिकाले नेपालका लागि महिला राजदूत पठाएपछि उसको प्रतिस्पर्धी देश चीनले पनि महिलालाई नै राजदूत बनाएर पठायो । नेपालका संवैधानिक निकायमा महिलाको नेतृत्व स्थापित भएका बेला चीन र अमेरिकारजस्तै अन्य देशले पनि महिलालाई नै राजदूत बनाएर काठमाडौं पठाउने क्रम बढेको छ ।
यो एउटा संयोगमात्रै हुन सक्छ, तर नेपालमा राज्यका प्रमुख स्थानमा महिलाहरु निर्वाचित भएका बेला विदेशी कुटनीतिक नियोगका प्रमुखहरुमा पनि महिलाको प्रतिनिधित्व बढेको देखिएको छ ।
राष्ट्रपतिमा विद्यादेवी भण्डारी र सभामुखमा ओनसरी घर्ती निर्वाचित हुनु विश्वकै राजनीतिमा विरलै हुने घटना हो । दक्षिण एशियाका लागि त यो अनौठो परिघटना नै हो । अझ पछिल्लो पटक नेपालमा न्यायपालिका प्रमुखसमेत महिलाले नै अर्थात सुशील कार्कीले सम्हालेको अवस्था छ ।
अहिले नेपाल एक प्रकारले महिलाको नेतृत्वमा छ । र, यो महिलाको नेतृत्वलाई यहाँ कार्यरत ८ जना महिला राजदूतहरुले थप शोभा बढाइदिएका छन् ।
कार्यपालिका प्रमुखबाहेक राज्यका प्रमुख पदहरुमा महिलाको नेतृत्व रहेका बेला नेपालस्थित राष्ट्रसंघीय प्रमुखसमेत महिला नै नियुक्त हुनु एक सुखद संयोग हो । हाल नेपालमा संयुक्त राष्ट्रसंघको आवासीयप्रतिनिधि भ्यालेरी जुलियाण्ड यसको उदाहरण हुन् ।
जुलियाण्डसहित नेपालमा सात जना महिला राजदूत कार्यरत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा अवस्थित २७ वटा स्थायी आवासीय कुटनीतिक नियोगमध्ये ८ नियोगको प्रमुखमा महिलाहरु कार्यरत छन् ।
नेपालमा महिलाहरु राज्यको उच्च पदमा पुगेपछि विश्वका दुई ठूला शक्तिराष्ट्र अमेरिका र चीनले महिला राजदूत नियुक्त गरेर पठाएका छन् ।
हाल नेपालमा क्रियाशील महिला रादूतमध्ये अमेरिकाकी एलाइना बी टेप्लिज र चीनकी यु होङको क्रियाशिलता लोभलाग्दो छ । होङ नेपाल आएको एक महिनामै जनताको मनमा बस्न सफल छिन् ।
अमेरिकी राजदूत टेप्लिज पनि नेपालका सर्वसाधारणबीच विभिन्न कार्यक्रम लिएर जाने गर्छिन् । उनले सामाजिक सञ्जालमा नेपाली महिला र बालवालिकाहरुसँगका लोभलाग्दा तस्वीरहरु पोष्ट गर्ने गर्छिन् ।
त्यस्तै नेपालका लागि बंगलादेशकी राजदूत माश्फी बिन्टे शाम्स पनि सार्वजनिक कार्यक्रमहरुमा उपस्थित हुने गर्छिन् । बंगलादेश महिला नेतृले चलाएको मुलुक हो ।
त्यस्तै डेनमार्ककी राजदूत पनि महिलानै हुन् । उनको नाम किस्र्टेन गिलान हो । डेनमार्कले अर्को वर्षदेखि नेपालको दूतावास बन्द गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
त्यसो त नेपालस्थित युरोपेली युनियनको राजदूत पनि महिला नै छिन् । युरोपेली युनियनकी राजदूत रेन्ज्से तिरिन्कका नेपाल मामिलाका पछिल्ला ट्वीट विवादमा समेत परेका थिए । हँसमुख स्वाभावकी उनी नेपालीहरुको नजरमा परिचित अनुहारजस्तै बन्न पुगेकी छिन् ।
पछिल्लो समय नेपालका लागि श्रीलंकाकी राजदूत पनि महिला नै आएकी छिन् । राजदूत डब्लु एस पिरेराले हालैमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छिन् ।
हाल नेपालमा रहेका दक्षिण एशियाली मुलुकका चार दूतावासमध्ये दुईवटामा महिला नै प्रमुख छन् । नेपालमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका दूतावास रहेका छन् । यीमध्ये भारत र पाकिस्तानबाट पुरुष राजदूतहरु काठमाडौंमा कार्यरत छन् ।
दक्षिण अमेरिकी मुलुक ब्राजिलले पनि नेपालमा महिला राजदूत पठाएको छ । नेपालका लागि ब्राजिलियन राजदूत मारिया टेरेसा मस्क्वीटा पेस्सोवा यसअघि ब्राजिलका लागि राष्ट्रसंघको स्थायी प्रतिनिधि थिइन् ।
नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाबारे अमेरिकाकी राजदूतले हालै प्रधानमन्त्री प्रचण्डलाई भेटेर चासो राखिन् । संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता भएपछि युरोपेली संघकी राजदूतले पनि प्रधानमन्त्रीलाई भेटिन् । उता श्रीलंकाकी राजदूतले प्रधानमन्त्री प्रचण्डलाई भेटेर श्रीलंका भ्रमणको निम्तोसमेत दिइन् ।
त्यस्तै चीनबाट आएकी नयाँ राजदूतले प्रधानमन्त्री, उपप्रधानमन्त्री उपराष्ट्रपति सभामुख लगायतसँग भेट गरेर आफ्नो सक्रियता देखाइरहेकी छिन् ।
नेपालमा सक्रियता देखाइरहेका यी महामहिमहरुले पुरुषहरुले भन्दा राम्रो भूमिका खेले भने यसले पक्कै पनि महिला सशक्तीकरणको पक्षमा सकारात्मक सन्देश दिनेछ । आशा गरौं उनीहरुको कार्यकाल नेपालमा सफल र निर्विवाद होस् । अनलाइनखबर

5580
Shares

ट्रेन्डिङ