सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मण्डनदेउपुर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु

मण्डनदेउपुर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु

1390
Shares
मण्डनदेउपुर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर आधारभूत अस्पतालमा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ ।

शनिबार उपप्रमुख विष्णुमणि नेपालको प्रमुख आतिथ्यतामा एक समारोहका बीच स्वास्थ्य शिविर शुरु गरिएको हो । शिविरमा मुटुरोग, अकुपञ्चर, स्त्रीरोग र जनरल परीक्षण सेवा प्रदान भैरहेको छ । आज र भोली दुई दिन शिविर सञ्चालन हुनेछ ।

शिविरको शुभारम्भ गर्दै उपप्रमुख नेपालले आधारभूत अस्पतालको सेवा सुविधालाई थप नागरिक मुखी बनाउन आफुहरु लागिरहेको बताउनुभयो । ‘हाम्रो आधारभूत अस्पतालमा अहिले नै विशेषज्ञ सेवा नियमित रुपमा सञ्चालन गर्न सकिने अवस्था छैन् ।

तर हामीले विभिन्न संघ संस्थासँगको सहकार्यमा स्वास्थ्य शिविर मार्फत विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेका छौँ । अस्पतालको सेवालाई थप प्रभावकारी बनाउने काम पनि भैरहेको छ ।’ उपप्रमुख नेपालले भन्नुभयो ।

नेपाल सरकारले आधारभूत अस्पतालका लागि तोकेको सेवा र त्यसमा नगरपालिकाले केही थप गरेर नगरबासीका लागि स्वास्थ्य उपचार दिइरहेको उपप्रमुख नेपालले बताउनुभयो । अस्पताल सञ्चालनमा आएपछि समान्य उपचारका लागि समेत बनेपा, धुलिखेल जानुपर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाई थियो ।

स्वास्थ्य शिविरको संयोजन गर्नुभएका नारायणकृष्ण श्रेष्ठले आफ्नै ठाउँमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य अनुसार शिविर सञ्चालन गरिएको बताउनुभयो । श्रेष्ठले मण्डनदेउपुर नगरपालिकाको विभिन्न ठाउँमा विगत लामो समयदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइहरनुभएको छ ।

‘कोभिडका कारण हामीले नियमित गर्दै आएको स्वास्थ्य शिविर रोकिएको थियो । फेरी हामीले आफ्नो कामलाई निरन्तरता दिएका छौँ । पहिले शिविर सञ्चालन गर्न ठाउँको निकै समस्या हुने गरेको थियो । तर अहिले आधारभूत अस्पताल सञ्चालनमा आएपछि निकै सहज भएको छ ।’ श्रेष्ठले भन्नुभयो ।

वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले शिविरले रोग पहिचानमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । ‘यति जाँच गर्न पनि अन्य अस्पताल जानु पर्यो भने निकै खर्च लाग्छ । तर आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य जाँच गर्न पाउन पनि अवसरको कुरा हो ।’ वडा अध्यक्ष पौडेलले भन्नुभयो ।

अस्पतालका प्रमुख डाक्टर दिल बहादुर थोकरले अस्पतालबाट स्थापनाको एक वर्षे अवधिमा ८ हजारभन्दा बढी नागरिकलाई सेवा प्रदान गरिसकेको बताउनुभयो । शिविरलाई स्थानीय स्तरमै विशेषज्ञ सेवा प्राप्त गर्ने अवसरका रुपमा लिनुपर्ने डाक्टर थोकरको भनाई थियो ।

नगरपालिकासंगको समन्वयमा कर्मा लेक्सी लिंग, लक्की थांका, होटल ट्रेडिसन एण्ड एसपीए, हिमालयन शप र स्पोर्ट टुर एण्ड ट्राभल्सले शिविरको आयोजना गरेको हो ।

1390
Shares

ट्रेन्डिङ