सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रमुखसंग प्रत्यक्ष प्रश्न गर्न पाउँदा बालबालिका खुशी

प्रमुखसंग प्रत्यक्ष प्रश्न गर्न पाउँदा बालबालिका खुशी

1645
Shares
प्रमुखसंग प्रत्यक्ष प्रश्न गर्न पाउँदा बालबालिका खुशी

काभ्रे | काभ्रेको नमोबुद्ध नगपालिकामा ‘मेयरसँग बालबालिका’ कार्यक्रम सञ्चालन गरिएको छ ।

बालमैत्री स्थानीय तह घोषणाको तयारीमा रहेको नमोबुद्ध नगरपालिकाले बालबालिकाले आफ्ना समस्या, गुनासो, जिज्ञासा प्रत्यक्ष रुपमा नगर प्रमुखसँग सोध्न सकुन् भनेर कार्यक्रम आयोजना गरिएको नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुुनुवारले जानकारी दिइन्।

नमोबुद्ध नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि स्विकृत बार्षिक नीति तथा कार्यक्रममा नै उक्त कार्यक्रम समावेश गरेको छ ।

कार्यक्रममा सहभागी बालबालिकाहरुले विद्यालयमा घेराबार नभएको, दिवा खाजाको रकम अपर्याप्त भएको, छात्रवृतिको व्यवस्था लगायत बिषयमा प्रश्न गरेका थिए । बालबालिकाहरुले शिक्षक अपर्याप्त भएको, डस्टविन, स्वास्थ्यकर्मी अभाव भएको लगायतका गुनासो गरेका थिए । बाल विवाह नियन्त्रण गर्न नगरपालिकाले के भूमिका खेल्न सक्छ भन्ने प्रश्न बालबालिकाले गरेका थिए ।

प्रश्नहरुको जवाफ दिँदै नगर प्रमुख कुनसाङ लामाले शिक्षा शाखा, विद्यालय, शिक्षक, विद्यार्थीहरुसंग समन्वय गरेर बालबालिकाले राखेका समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता जनाए । उनले विद्यार्थी संख्या यकिन गरेर अपर्याप्त भए दिवा खाजाको लागि रकम थप गर्ने बताए । उनले बालविवाह नियन्त्रण गर्नको लागि सरोकारवाला सबैको भूमिका हुने भएकोले सहकार्यमा नियन्त्रण गरिने बताए ।

शिक्षक–विद्यार्थी अनुपात अनुसार शिक्षक अपुग भए व्यवस्थापन गर्ने उनले प्रतिवद्धता जनाए । कार्यक्रमममा प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले निकै महत्वपूर्ण कार्यक्रम आयोजना भएकोले यसबाट बालबालिकाले सिकाइको राम्रो अवसर पाउने तर्क गरे । अहिलेका बालबालिकाले नै भोली नगरपालिकाको नेतृत्व गर्न सक्ने भन्दै सिकाइको जोश हुनुपर्ने बताए ।

कार्यक्रममा नगरस्तरीय बाल क्लव सञ्जालका उपाध्यक्ष नमूना प्याकुरेल, सचिव सदिक्षा प्याकुरेल, कालिगंगा प्राथमिक विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद न्यौपाने, श्रीकृष्ण माध्यमिक विद्यालयका बालमैत्री सम्पर्क शिक्षक राजनप्रसाद अधिकारी, जनक मावि बालक्लव सञ्जालका निरोज अधिकारी लगायतले मेयरसँग बालबालिका कार्यक्रम निकै उपयोगी भएको तर्क गरेका थिए ।

बाल भेलाले नमूना प्याकुरेलको अध्यक्षतामा नगरस्तरीय बालक्लव सञ्जाल पुनर्गठन गरेको छ । सञ्जालको सदस्यमा सदिक्षा प्याकुरेल, सिद्धार्थ श्रेष्ठ, सुशान्त न्यौपाने, रिजन अधिकारी, निरोज अधिकारी, गोकर्ण धिताल, सविन श्रेष्ठ, निकिता लामा, राजेश्वरी श्रेष्ठ, उमंग काफ्ले, राम सुर्खेती, नविना तिमल्सिना, दिपिका तिमल्सिना, रोशनी लामा, कविता थिङ, युनिक लामा, मोनिका तामाङ, रञ्जु तामाङ, बविता श्रेष्ठ, सञ्जीव तामाङ, नवराज श्रेष्ठ छन् ।

पहिलो बैठकले सदस्यहरुको कार्यविभाजन गर्ने अध्यक्ष प्याकुरेलले जानकारी दिइन् ।

1645
Shares

ट्रेन्डिङ