सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • व्यावसायिक कृषिबाट आत्मनिर्भर बन्दै कृषक

व्यावसायिक कृषिबाट आत्मनिर्भर बन्दै कृषक

5115
Shares
व्यावसायिक कृषिबाट आत्मनिर्भर बन्दै कृषक

सिन्धुपाल्चोक जिल्ला मेलम्ची क्षेत्रका कृषक व्यावसायिक कृषिबाट आत्मनिर्भर हुन थालेका छन् । कृषि पेसाबाटै लाखौँ आम्दानी गर्न सफल मेलम्ची नगरपालिका–९ थाक्लेका रमेश पराजुली यस क्षेत्रकै उदाहरण बन्नुभएको छ ।
दुई दशकअघिबाट कृषिमा व्यावसायिकरुपले संलग्न हुनुभएका उहाँले यो पेसा आफ्नो मुख्य रोजाइमा रहेकोे बताउनुभयो ।
प्याजको बेर्ना उत्पादन गरेर बेचेकै भरमा आफू आत्मनिर्भर बन्न सफल भएको उहाँको भनाइ छ । पराजुलीले अहिले दुई रोपनी जग्गामा प्याजको बेर्ना लगाउनुभएको छ । विगत २० वर्षदेखि मेलम्ची बजारको आमाह्याल्मो चोकमा डोकामा प्याजको बेर्ना ल्याएर व्यापार शुरु गर्नुभएका अहिले उहाँको वार्षिक आम्दानी रु एक लाखभन्दा बढी छ ।
बेर्नासँगै आफूले गर्दै आएको जुनार खेती र महको व्यापारले जीविकोपार्जनलाई थप टेवा पुगेको पराजुलीले बताउनुभयो ।
समय समयमा जिल्ला कृषि विकास कार्यालयले किसानका लागि क्षमता अभिवृद्धि तथा विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरेर उत्प्रेरणा दिने गरेकाले पनि आफूहरुलाई कृषि पेसामा रम्न सहज भएको यहाँका किसान बताउँछन् ।
बाह्र वर्षदेखि कृषि पेसामा आबद्ध मेलाम्ची–१२, बगुवाका किसान लेखनाथ खतिवडा पनि जिल्लाको उत्कृष्ट किसानका रुपमा परिचित हुनुहुन्छ ।
कुनै बेला उत्पादन नहुँदा आजित भएर भारतको कार्गिल छिरेका खतिवडा नेपाल फर्केपछि जाइकाले कृषिका लागि अभिप्रेरित गर्न निःशुल्क तालिम र टिडी फार्म सञ्चालन गर्न सिकाएपछि अहिले मनग्य आम्दानी गर्न सफल हुनुभएको हो ।
जिल्ला कृषि विकास कार्यालयबाट पटक पटक सम्मान तथा पुरस्कारले कृषिमा लगाव र हौसला मिलेको खतिवडाले बताउनुभयो ।
जिल्लाको उत्कृष्ट कृषकका रुपमा परिचित खतिवडाले वार्षिक रु पाँच लाख बढी आम्दानी गर्नुहुन्छ । मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट उहाँले राम्रो गर्न सफल हुनुभएको हो ।
घरदेखि नजिकै रहेको मेलम्ची बजारमा आफूले उत्पादन गरेको तरकारी बिक्री गर्ने गर्नुभएका खतिवडा सिङ्गो गाउँको नमुना कृषक बन्नुभएको छ । तालिमलिएपछि व्यावसायिकरुपले कृषि पेसामा लाग्नुभएका खतिवडाबाट सिकेर सिङ्गो गाउँ नै यो पेसामा आकर्षित भएका हुन् । रासस

5115
Shares

ट्रेन्डिङ